त्रिशूली बाढीपछि जलविद्युत् आयोजना र लगानी सुरक्षामा गम्भीर प्रश्न : कुलमान घिसिङ

त्रिशूली बाढीपछि जलविद्युत् आयोजना र लगानी सुरक्षामा गम्भीर प्रश्न : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भदौ १० गते भोटेकोशी हुँदै आएको त्रिशूली बाढीपछि त्रिशूली नदी करिडोरमा रहेका जलविद्युत् आयोजनाको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन्।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले बाढीबाट विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले तत्कालीन संकट मात्र नभई नेपालको आगामी ऊर्जा सुरक्षा र विकास यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको बताएका हुन्। विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर रहेको उनको भनाइ छ।

घिसिङका अनुसार त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्का कारण यहाँका जलविद्युत् आयोजनाको दीर्घकालीन सुरक्षा र लगानीको सुनिश्चितताबारे चिन्ता बढेको छ। यस्तो अवस्थाले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पार्न सक्ने उनले उल्लेख गरेका छन्।उनले विपद्का कारण आफ्नो थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले थप प्रभावकारी र देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। जाडो मौसम नजिकिँदै गर्दा विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने भन्दै उनले प्रभावित नागरिकका लागि सुरक्षित आवास, राहत तथा पुनर्स्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।घिसिङले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र पर्याप्त नहुने बताएका छन्। लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याउने तथा भविष्यमा यस्ता प्राकृतिक विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक रहेको उनको भनाइ छ।

त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उल्लेख गर्दै घिसिङले आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने बताएका छन्। त्यसका लागि तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण तथा मर्मतलाई उच्च प्राथमिकता दिनुपर्ने उनले सुझाव दिएका छन्।‘लोडसेडिङ हुँदैन’ भन्ने घोषणा मात्र पर्याप्त नहुने भन्दै घिसिङले लोडसेडिङ रोक्न आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम अहिलेबाटै सुरु गर्नुपर्ने बताएका छन्।संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै घिसिङले प्राकृतिक विपद् रोक्न नसकिए पनि विपद्पछिको राज्यको प्रतिक्रिया, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार