महोत्तरी । अत्यधिक गर्मी र वर्षाका कारण महोत्तरीमा सर्पदंशका घटना बढेका छन् । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन् । असोज सुरु भएयता केही दिनको प्रचण्ड गर्मी, त्यसपछि लगातार चार दिन परेको वर्षा र पुनः बढेको गर्मीका कारण सर्पदंशका घटना बढेको उपचारमा संलग्न स्वास्थ्य प्राविधिकहरूले बताएका छन् ।उपचार केन्द्रका अनुसार गर्मीमा सर्प शीतल स्थान खोज्दै बाहिर निस्कने र वर्षाका बेला दुलोभित्र पानी पस्दा बाहिर आउने भएकाले सर्पदंशका घटना बढ्ने गर्छन् । नेपाली सेनाका स्वास्थ्य प्राविधिक टोलीका इन्चार्ज किङ्काङ चौधरीले असोज सुरु भएसँगै सर्पदंशका बिरामी आउने क्रम बढेको बताए । हाल केन्द्रका शय्या बिरामीले भरिएका छन् भने नेपाली सेनाका चार जना स्वास्थ्य प्राविधिकले उपचार सेवा धानिरहेका छन् ।
केन्द्रमा दक्ष चिकित्सकको अभाव भने लामो समयदेखि कायमै छ । सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाका अनुसार चिकित्सकको व्यवस्थाका लागि पटक–पटक पहल गरिए पनि अहिलेसम्म स्थायी समाधान हुन सकेको छैन । केन्द्रले कहिलेकाहीँ एन्टिस्नेक भेनमको समेत अभाव झेल्दै आएको छ । गत भदौ मसान्तमा एन्टिस्नेक भेनम नपाएपछि केन्द्रले उपचार सेवा बन्द भएको सूचना नै टाँस्नुपरेको थियो । त्यसपछि समाचारमार्फत विषय सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण भएको र औषधि उपलब्ध भएपछि सेवा पुनः सञ्चालन गरिएको देवकोटाले बताए ।केन्द्रमा दक्ष चिकित्सक तथा भेन्टिलेटरसहितका आवश्यक उपचार सुविधा पर्याप्त नहुँदा जटिल अवस्थाका बिरामीलाई प्रादेशिक अस्पताल जनकपुर तथा अन्य सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको छ । केन्द्र सञ्चालक समितिका सचिव ध्रुव विष्टले गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक उपचार सुविधा उपलब्ध नभएको अवस्थामा केन्द्रमै रोकिराख्दा जोखिम बढ्न सक्ने बताए । उनले तत्काल बर्दिवास नगर अस्पतालका चिकित्सकमध्ये एक जनालाई केन्द्रमा खटाउन स्थानीय तहले पहल गर्नुपर्ने बताएका छन् ।
बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले पनि सर्पदंश उपचार केन्द्रमा दक्ष चिकित्सकको आवश्यकता रहेको स्वीकार गर्दै सञ्चालक समितिसँग समन्वय गरेर चाँडै चिकित्सकको व्यवस्था गरिने बताए । उपचारमा संलग्न नेपाली सेनाको श्री गोरखनाथ गण, परिकौलीले पनि दक्ष चिकित्सकको अभावमा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या हुने जनाएको छ ।विषालु सर्पको जोखिम रहेको यस क्षेत्रमा सर्पदंशबाट मानिसको मृत्यु हुने क्रम बढेपछि समुदायस्तरको पहलमा गौरीडाँडामा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो । विसं २०७१ साउन ३१ गतेदेखि सञ्चालनमा आएको केन्द्रले स्थापनादेखि हालसम्म ३३ हजारभन्दा बढी सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको अभिलेख छ । महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुङ्गा र रामेछापका बिरामीसमेत उपचारका लागि यहाँ आउने गरेका छन् । पछिल्लो समय सर्पदंशका बिरामीको चाप बढ्दै गएसँगै केन्द्रमा थप दक्ष चिकित्सक, आवश्यक उपचार उपकरण र एन्टिस्नेक भेनमको नियमित उपलब्धताको मागसमेत बढेको छ ।