बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, आठ जना घाइते

बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, आठ जना घाइते

सिन्धुली । सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन्। आज बिहान करिब ८ः३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा बेथानचोक–१ बस्ने २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीय मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ घाइते भएका छन्। जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार