काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्वनेता मनोजमणि आचार्यले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आचार्यले खस–आर्य क्लस्टरतर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने जानकारी दिएका हुन्। उनले सभापति र उपसभापतिहरूलाई समेत आफ्नो उम्मेदवारीबारे जानकारी गराइसकेको बताएका छन्। कांग्रेसको संशोधित विधानअनुसार ११ जना सहमहामन्त्री रहने व्यवस्था छ, जसमा आठ जना समावेशी क्लस्टरबाट निर्वाचित हुने तथा तीन जना सभापतिले मनोनित गर्ने प्रावधान छ। विशेष महाधिवेशनको माग गर्ने अगुवा नेतामध्ये एक रहेका आचार्य रोल्पाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि सुरु हुने तय भएको छ।