शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन सडक विभागले मर्मत तथा पहिरो पन्छाउने काम तीव्र बनाएको छ। विभागका अनुसार सडकलाई आगामी शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ।बेँसीसहर–चामे खण्डअन्तर्गत रामबजारमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ भने तिमाङदेखि कोतोसम्मको क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ। खोत्रोमा बाढीले सडक बगाएको स्थानमा ब्याक कटिङ र टेवा पर्खाल निर्माण भइरहेको छ। उक्त स्थानमा आज साँझसम्म यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। सोही क्षेत्रनजिकको कडा भीर हटाउन नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको कामसमेत भइरहेको सडक विभागले जनाएको छ।यसअघि फापरखेतमा सडक खुलाउन स्थानीयको खेत कटिङ गर्नुपर्ने तथा क्षतिपूर्तिको मागका कारण काम रोकिएको थियो। स्थानीय पालिका, जिल्ला प्रशासनलगायत निकायसँग समन्वय गरी समस्या समाधान भएपछि सडक खुलाउने काम अघि बढाइएको छ। त्यस्तै, बगरछाप क्षेत्रमा सडकमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम भइरहेको छ। बाढीले काठे पुल बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी पर्सिसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने सडक विभागले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार