मनाङ । मनाङमा अविरल वर्षापछि घट्टेखोलाबाट आएको लेदो, ढुङ्गा, गिट्टी र बालुवाले मर्स्याङ्दी नदीको बहाव अवरुद्ध हुँदा पुल आसपास तालजस्तो अवस्था बनेको छ। नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि अझै पानी जमेको अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार नदीको बहाव खुलाउन दुवैतर्फबाट एक्साभेटर प्रयोग भइरहेको छ भने इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम सञ्चालन गरिएको छ। विज्ञको परामर्शमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा नदीको बहावलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदीको बहाव र जोखिमलाई ध्यानमा राख्दै छेउको भागबाट काम भइरहेको छ। नदीले पुलमाथिबाट धार परिवर्तन गरेपछि आसपासका केही घरसमेत डुबानमा परेका छन्। लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण मनाङमा विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट तथा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैबीच, मर्स्याङ्दी नदीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावतमा थप समस्या भएको छ। स्थानीय रामबहादुर थकालीका अनुसार ताचै क्षेत्र सडक सञ्जालबाट अलग भएको छ। विगतमा तीनतिरबाट आवतजावत गर्न सकिने भए पनि पछिल्लो बाढीपहिरोले घोडेटो, गोरेटो तथा मोटरबाटो क्षतिग्रस्त भएपछि गाउँबाट आकस्मिक रूपमा बाहिर जानसमेत कठिन भएको छ। नासोँ–८ का वडाध्यक्ष याद घलेले बाढी र पहिरोले गाउँबाट बाहिरिने सबै बाटो बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क पूर्ण रूपमा टुटेको बताए। आवश्यक स्रोतसाधनको अभावमा तत्काल आवश्यक काम अघि बढाउनसमेत कठिन भइरहेको उनको भनाइ छ।