काठमाडौँ । भोटेकोशी बाढी आएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न सङ्घ–संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र यूथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजकले जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र सङ्घर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउने, प्रभावित समुदायको अधिकार तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउने र जलवायु न्यायको मागलाई सामूहिक रूपमा बुलन्द गर्ने जनाएको हो।
वसन्तपुरमा हुने दीप प्रज्वलन कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा तथा जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने माग अघि सारिनेछ। त्यस्तै, पुनर्स्थापना, अनुकूलन तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्ने माग पनि गरिने आयोजकले जनाएको छ। प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउँदै जलवायु सङ्कटबाट भएको क्षतिको उचित जिम्मेवारी वहन गर्नुपर्ने मागसमेत कार्यक्रममा उठाइनेछ।आयोजकका अनुसार जलवायु न्यायका विषयमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न युवाहरूलाई अभिमुखीकरण गर्ने, प्रभावित समुदायमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने तथा उनीहरूको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले एक सातासम्म विभिन्न गतिविधि सञ्चालन गरिएको छ। सामूहिक दीप प्रज्वलन कार्यक्रमले जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको अधिकार र जलवायु न्यायका विषयमा सार्वजनिक ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ।