स्वदेशी रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

स्वदेशी रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) का विज्ञ सम्मिलित कार्यदल गठन गरेकी हुन्।कार्यदलले नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, विद्यमान कानुनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी मल आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढिरहेको भए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था हालसम्म नभएकाले आवश्यक कानुनी तथा नीतिगत आधार पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ।कार्यदलले विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था, प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्नेछ। कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार