पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारसँग जवाफ माग

पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा सरकारसँग जवाफ माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कारण, कानुनी आधार र सरकारको आधिकारिक धारणा संसद्मार्फत सार्वजनिक गर्न सभाध्यक्षमार्फत माग गरेका हुन्।सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। त्यस्तै, सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले जबराको गिरफ्तारीप्रति विरोध जनाउँदै यस विषयमा गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गरे।जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सांसदहरूले घटनाको कानुनी आधारबारे जानकारी माग गरेका हुन्। सोधपुछपछि जबरालाई घरमै सुरक्षा दिने गरी छाडिएको सार्वजनिक विवरणबारे पनि सरकारले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको माग छ।

बैठकमा सांसदहरूले अन्य समसामयिक तथा स्थानीय समस्यासमेत उठाएका थिए। सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे भने धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न सरकारसँग आग्रह गरे। सांसद मीना सिंह रखालले कर्णालीका जोखिमपूर्ण सडक तथा पुल निर्माणमा ध्यान दिनुपर्ने बताइन् भने रेखाकुमारी झाले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणसँगै प्रभावित नागरिकको सुरक्षित बसोबास र पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन्।यसैगरी, सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउँदै बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद् तथा हिमपातका कारण पर्यटकले समस्या भोग्नुपरेको विषय उठाइन् भने सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीबाट किसानको धानबालीमा हुने क्षतिका लागि पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार