दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा दक्षिण सुडानमा सञ्चालित युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनएमआईएसएस) मा कार्यरत श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली मिसन क्षेत्रमा प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।नेपाली सेनाका अनुसार उक्त टोली असोज १५ गते दक्षिण सुडानतर्फ प्रस्थान गरेको हो। सोही दिन मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०३ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्।हाल दक्षिण सुडानस्थित यूएनएमआईएसएसमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत रहेका छन्। संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनासम्बन्धी अभियानमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार