दाङ । घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र किसान र उपभोक्ताका लागि उपयोगी बन्दै गएको छ। केन्द्र सञ्चालनमा आएपछि किसानले आफ्ना उत्पादन बिक्रीका लागि सहज बजार पाउनुका साथै उपभोक्ताले पनि किसानबाट सिधै ताजा सागसब्जी तथा फलफूल सुपथ मूल्यमा खरिद गर्न पाएका छन्।घोराही–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न दैनिक बिहान कृषि उपज बिक्री केन्द्र पुग्छिन्। अन्यत्रभन्दा यहाँ ताजा कृषि उपज सस्तो मूल्यमा पाइने भएकाले आफू नियमित आउने गरेको उनले बताइन्। किसानबाट सिधै सुपथ मूल्यमा आवश्यक सागसब्जी खरिद गर्न पाउँदा आफू खुसी भएको उनको भनाइ छ।
घोराही–१५ की सरिता खड्का पनि हरेक बिहान यही केन्द्रबाट सागसब्जी खरिद गर्छिन्। केन्द्रमा अन्यत्रभन्दा राम्रो र ताजा सागसब्जी पाइने भएकाले आफू बिहानै आउने गरेको उनले बताइन्। उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि बिचौलियाको प्रभाव कम हुँदा किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि उपज खरिद गर्न पाउने अवस्था बनेको छ।घोराही–७ का किसान रामकुमार चौधरीले कृषि उपज बिक्री केन्द्रबाट आफूले उत्पादनको उचित मूल्य पाउँदै आएको बताए। १५ कठ्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएका चौधरीले बाहिरको मूल्यभन्दा पाँचदेखि १० रुपैयाँसम्म बढीमा केन्द्रमा उत्पादन बिक्री गर्ने गरेको बताए। सागसब्जी खेतीबाट मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी हुने उनले जानकारी दिए। काउली, बन्दा, गोलभेँडा, साग र खुर्सानीलगायतका उत्पादन केन्द्रमा ल्याउने गरेको र अधिकांश उत्पादन सहजै बिक्री हुने उनको भनाइ छ।
घोराही–८ की निर्मला चौधरी पनि घरमा उत्पादन भएको सागसब्जी बिक्री गर्न केन्द्रमा आउने गर्छिन्। व्यावसायिक रूपमा खेती नगरे पनि घरमा खाएर बचेको सागसब्जी बिक्री गर्न सहज भएको उनले बताइन्। केन्द्रमा ताजा कृषि उपज उपलब्ध हुन थालेपछि उपभोक्तासमेत लाभान्वित भएको उनको भनाइ छ।घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कृषि उपज बिक्री केन्द्रमा किसानले दैनिक १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा सागसब्जी तथा फलफूल बिक्रीका लागि राख्ने गरेका छन्। केन्द्रले किसानलाई बजारको सुनिश्चितता प्रदान गर्नुका साथै उपभोक्तालाई ताजा र सस्तो कृषि उपज उपलब्ध गराउँदै आएको छ।घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेका अनुसार केन्द्र सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमा पुगेर सागसब्जी बिक्री गर्नुपर्ने बाध्यता हटेको छ। किसानले एउटै स्थानबाट आफ्नो उत्पादन बिक्री गर्न पाउने र उपभोक्ताले पनि ताजा कृषि उपज खरिद गर्न पाउने भएकाले केन्द्र किसान तथा उपभोक्ता दुवैका लागि उपयोगी बनेको उनले बताए।