कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फ केन्द्रीय सदस्यमा निर्मल रिजालको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फ केन्द्रीय सदस्यमा निर्मल रिजालको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदका लागि निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन्। लामो राजनीतिक संघर्ष, संगठनात्मक अनुभव तथा सामाजिक सेवामा सक्रिय भूमिकालाई आधार बनाउँदै रिजालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

रिजालले आफू २०३६ सालको जनमतसंग्रहदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको बताएका छन्। उनले २०४२ सालको सत्याग्रह तथा २०४६ र २०६२/६३ को जनआन्दोलनमा समेत सहभागी भएको उल्लेख गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका रिजालले पुल्चोक इन्जिनियरिङ क्याम्पसलगायतका स्थानमा राजनीतिक गतिविधिमा सहभागी हुँदै नेपाली कांग्रेसको संगठनमा जोडिएको बताएका छन्।

काठमाडौंमा रहेर रिजालले पाँचथर तथा कोशी प्रदेशबाट उपचारका लागि आउने बिरामीलाई अस्पताल व्यवस्थापनमा सहयोग गर्नुका साथै रगत तथा आर्थिक सहयोग जुटाउने काम गर्दै आएको बताएका छन्। विदेशमा निधन भएका नेपालीको शव व्यवस्थापनमा समेत आफूले सहयोग गर्दै आएको उनको भनाइ छ।रिजालले पाँचथर–काठमाडौं सम्पर्क समिति तथा कोशी प्रदेश काठमाडौं सम्पर्क समितिको संगठन निर्माणमा समेत भूमिका खेलेको बताएका छन्। उनी व्यवसायिक क्षेत्रमा समेत संलग्न छन्।राजनीतिक संघर्ष, विद्यार्थी राजनीतिदेखिको अनुभव, संगठन निर्माण र सामाजिक सेवाको यात्रालाई आफ्नो मुख्य आधार बनाउँदै पार्टीको केन्द्रीय तहमा रहेर योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको रिजालले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार