क्यानबेरा । अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। २ अक्टोबर २०२६ देखि लागू भएको नयाँ व्यवस्थाले अस्ट्रेलियाभित्रै बसेर विद्यार्थी भिसा लिन खोज्ने अधिकांश अस्थायी भिसाधारीलाई देशबाहिरबाट आवेदन गर्नुपर्ने व्यवस्था गरेको छ। हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा पनि अधिकांश अवस्थामा यही नियम लागू हुनेछ।नयाँ व्यवस्थाअनुसार आवेदन देशबाहिरबाट गर्नुपर्ने भए भिसा स्वीकृत हुँदा पनि आवेदक अस्ट्रेलियाबाहिरै हुनुपर्नेछ। यसको अर्थ, अस्ट्रेलिया पुगेपछि अध्ययनको तह, विषय वा योजना परिवर्तन गरेर पहिलेझैँ देशभित्रै बसेर अर्को विद्यार्थी भिसा थप्ने विकल्प धेरैका लागि सीमित भएको छ।यद्यपि सबै विद्यार्थीका लागि नियम समान छैन। अध्ययन पूरा गर्न थप १२ महिना आवश्यक पर्ने विद्यार्थी, विद्यावारिधि अध्ययनमा जाने विद्यार्थी, अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग वा रक्षा निकायबाट प्रायोजित विद्यार्थी, विद्यालय तहका विद्यार्थी तथा केही विशेष अवस्थाका आवेदकलाई छुट दिइएको छ। शिक्षा प्रदायकको समस्या वा संस्थागत कारणले अध्ययन निरन्तरतामा असर परेका केही विद्यार्थीका लागि पनि विशेष व्यवस्था गरिएको छ।परिवार पछि बोलाउने बाटो पनि बन्दनयाँ व्यवस्थाको अर्को महत्वपूर्ण प्रभाव विद्यार्थीका परिवारमा पर्नेछ। अब अधिकांश विद्यार्थीले नयाँ विद्यार्थी भिसाको आवेदनमै श्रीमान्, श्रीमती वा आश्रित सन्तानलाई समावेश गर्न पाउने छैनन्। त्यति मात्र होइन, विद्यार्थी भिसा स्वीकृत भएपछि पछि परिवारलाई ‘सब्सिक्वेन्ट इन्ट्रेन्ट’का रूपमा अस्ट्रेलिया बोलाउने व्यवस्था पनि सामान्य अवस्थामा हटाइएको छ।यसको अर्थ विद्यार्थी पहिले एक्लै अस्ट्रेलिया जाने र पछि त्यही विद्यार्थी भिसाका आधारमा परिवारलाई बोलाउने पुरानो बाटो अब अधिकांशका लागि खुला रहने छैन। यद्यपि विद्यावारिधि, सरकारी प्रायोजन, विदेशी सरकारी छात्रवृत्ति तथा योग्य प्रशान्त र आसियान क्षेत्रका विद्यार्थीका लागि केही अपवाद कायम छन्।‘कोर्स हपिङ’माथि पनि निगरानीअस्ट्रेलियाले विद्यार्थी भिसा लिएर पुगेपछि पटक–पटक कलेज वा कोर्स परिवर्तन गर्ने प्रवृत्तिमाथि पनि नियन्त्रण बढाएको छ।
२ अक्टोबरदेखि गैरविद्यालय क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीले एउटै शिक्षा प्रदायकको मुख्य कोर्समा कम्तीमा १२ महिना पूरा नगरी अर्को प्रदायकमा सर्न पाउने व्यवस्थामा अस्थायी कडाइ गरिएको छ। यो व्यवस्था ३० जुन २०२७ सम्म लागू हुनेछ र त्यसपछि १ जुलाई २०२७ देखि पुनः ६ महिनाको प्रावधानमा फर्कने बताइएको छ।यसपछि अर्को चरणको कडाइ पनि आउँदैछ। अस्ट्रेलियाले २०२७ को मध्यदेखि नयाँ विद्यार्थी भिसा ‘ट्रान्सफर स्ट्रिम’ ल्याउने तयारी गरेको छ। यसको उद्देश्य अस्ट्रेलिया प्रवेश गरेपछि कम तह वा कम गुणस्तरका कोर्समा सर्दै विद्यार्थी भिसाको अवधि लम्ब्याउने प्रवृत्ति नियन्त्रण गर्नु हो।यसले अस्ट्रेलियाको विद्यार्थी भिसा नीति प्रवेशका बेला विद्यार्थी वास्तविक विद्यार्थी हो कि होइन भन्ने परीक्षणमा मात्र सीमित नरहेको देखाउँछ। अब विद्यार्थीले अस्ट्रेलिया पुगेपछि के पढ्यो, किन संस्था परिवर्तन गर्यो र अध्ययनलाई भिसा लम्ब्याउने माध्यम बनाएको छ कि छैन भन्ने विषयमा पनि निगरानी बढाइनेछ।एउटा कोर्समै नयाँ भर्ना रोकियोनयाँ विद्यार्थी भिसा नियम लागू भएको केही दिनमै अस्ट्रेलियाले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। ‘ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट (लर्निङ)’ नामक पाठ्यक्रममा ५ अक्टोबरदेखि नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोकिएको छ।सरकारले उक्त पाठ्यक्रममा विद्यार्थी भर्नाको ढाँचा तथा संस्थागत गतिविधिमा भिसा इमानदारीसम्बन्धी महत्वपूर्ण र प्रणालीगत समस्या देखिएको जनाएको छ। यसअघि नै अध्ययन गरिरहेका विद्यार्थीले भने आफ्नो पढाइ पूरा गर्न पाउनेछन्।सरकारका अनुसार पाठ्यक्रममा नयाँ भर्ना रोक्ने निर्णय सार्वजनिक भएपछि केही शिक्षा प्रदायकले समयसीमा छल्न खोजेको देखिएको थियो। सरकारले १,३०० भन्दा बढी नयाँ कन्फर्मेसन अफ इनरोलमेन्ट जारी भएको र १,५०० भन्दा बढी विद्यार्थीको अध्ययन सुरु हुने मिति अगाडि सारिएको जनाएको छ।नेपाली विद्यार्थीमा पनि प्रत्यक्ष असरअस्ट्रेलियाको नयाँ नीति नेपालका विद्यार्थीका लागि पनि महत्वपूर्ण छ। अस्ट्रेलियाको गृह मामिला विभागका अनुसार २०२४–२५ मा नेपाली नागरिकलाई ३१ हजार ८६९ विद्यार्थी भिसा दिइएको थियो। यो अस्ट्रेलियाले एक वर्षमा जारी गरेको कुल विद्यार्थी भिसाको ८.६ प्रतिशत हो र नेपाल विद्यार्थी भिसा पाउने देशमध्ये तेस्रो स्थानमा थियो।त्यस्तै, जुन २०२६ सम्मको अस्ट्रेलियाली शिक्षा विभागको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको हिस्सा करिब ९ प्रतिशत थियो। सोही अवधिमा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल भर्ना अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत र नयाँ विद्यार्थीको संख्या ९ प्रतिशत घटेको थियो।यसकारण नयाँ नियमले नेपाली विद्यार्थीको अध्ययन योजना, आर्थिक तयारी, परिवारसँगको बसाइँ तथा भविष्यको बसाइँसराइ योजनामा समेत प्रभाव पार्न सक्छ।
सिड्नीका रजिस्टर्ड माइग्रेसन एजेन्ट निरज श्रेष्ठका अनुसार नयाँ व्यवस्था विशेषगरी अस्ट्रेलियाभित्र बसेर अर्को विद्यार्थी भिसा लिने तयारीमा रहेका तथा अध्ययनको तह वा विषय परिवर्तन गर्न चाहने विद्यार्थीका लागि महत्वपूर्ण छ। उनका अनुसार कतिपय विद्यार्थीले नयाँ भिसा प्रक्रियाका लागि देशबाहिर जानुपर्ने हुन सक्ने भएकाले हवाई यात्रा, बसाइँ र आवेदनसँग सम्बन्धित अतिरिक्त खर्चसमेत थपिन सक्छ।श्रेष्ठका अनुसार नयाँ व्यवस्थाको मुख्य उद्देश्य वास्तविक अध्ययनभन्दा भिसा र बसाइँलाई प्राथमिकता दिने ‘भिसा हपिङ’ तथा ‘कोर्स हपिङ’ नियन्त्रण गर्नु हो। तर यसको प्रभाव वास्तविक विद्यार्थीमा समेत पर्न सक्ने भएकाले आवेदनअघि आफ्नो अवस्था र लागू हुने छुटबारे स्पष्ट जानकारी लिनुपर्ने उनको सुझाव छ।अब विद्यार्थीले के बुझ्नुपर्छ ?नयाँ नियमपछि अस्ट्रेलियामा अध्ययन गर्न जाने निर्णय पहिलेभन्दा बढी योजनाबद्ध बनाउनुपर्ने भएको छ। विद्यार्थीले आवेदन दिनुअघि आफूले कुन तहको अध्ययन गर्ने, कलेज वा कोर्स परिवर्तन गर्नुपर्ने सम्भावना कति छ, भविष्यमा अर्को विद्यार्थी भिसा आवश्यक पर्न सक्छ कि सक्दैन र परिवारलाई सँगै लैजाने वा पछि बोलाउने योजना छ कि छैन भन्ने विषयमा स्पष्ट हुनुपर्नेछ।अस्ट्रेलियाको गृह मामिला विभागले नयाँ नियम लागू भएपछि गलत स्थानबाट गरिएको आवेदन अमान्य हुन सक्ने र त्यसले भविष्यको भिसा अवस्थासमेत प्रभावित पार्न सक्ने चेतावनी दिएको छ। त्यसैले शिक्षा प्रदायक वा एजेन्टको मौखिक सुझावमा मात्र निर्भर नभई आवेदनअघि आधिकारिक नियम र आफ्नो अवस्थाअनुसार लागू हुने प्रावधान जाँच गर्नुपर्ने देखिन्छ।समग्रमा, अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई प्रवेश गर्न रोक्ने नीति लिएको भन्दा पनि विद्यार्थी भिसा लिएर प्रवेश गरेपछि अध्ययनभन्दा बाहिरका माध्यमबाट अस्थायी बसाइँ लम्ब्याउने सम्भावनालाई नियन्त्रण गर्ने दिशामा नियम कडा बनाउँदै लगेको छ। नयाँ व्यवस्थापछि अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीले सुरुबाटै आफ्नो अध्ययन, भिसा र पारिवारिक योजनालाई स्पष्ट र दीर्घकालीन रूपमा तय गर्नुपर्ने अवस्था बनेको छ।