बुटवल । रुपन्देहीको तिलोत्तमामा घरमै सुतिरहेकी १० वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारुलाई गोली चलाएर पक्राउ गरेको छ। तिलोत्तमा–१७ दरखसवाका थारुलाई शनिबार राति करिब १ बजे कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको र गोली लागेर उनको खुट्टामा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। प्रहरीले बुधबार राति घरमा सुतिरहेकी बालिकालाई थारुले अपहरण गरेको जनाएको छ। राति करिब २ बजे हजुरआमाले बालिकालाई ओढाउने क्रममा खोज्दा उनी घरमा नभएको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले बिहीबार बिहानदेखि बालिकाको खोजी सुरु गरेको थियो। खोजीका क्रममा शुक्रबार साँझ कान्छी बजारस्थित जंगलबाट अपहरण भएको करिब ३८ घण्टापछि बालिकालाई सकुशल उद्धार गरिएको थियो। उद्धारस्थलमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरी खोजी जारी राखेको थियो। सोही क्रममा शनिबार राति थारुलाई पक्राउ गरिएको हो। प्रहरीले बालिका हाल सुरक्षामा रहेको र उनको स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।