दसैँ नजिकिएसँगै काठमाडौँका बजारमा किनमेल गर्नेको चाप बढ्यो

दसैँ नजिकिएसँगै काठमाडौँका बजारमा किनमेल गर्नेको चाप बढ्यो

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायत विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ। दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न ग्राहक बजारमा आउन थालेपछि व्यापारीहरू पनि व्यस्त भएका छन्। विशेषगरी परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेको व्यापारीहरूले बताएका छन्।भृकुटीमण्डपस्थित खुला बजारका फेन्सी पसलका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन उल्लेख्य रूपमा बढेको छ। बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको उनले बताए। दसैँ नजिकिँदै गएसँगै कपडा किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढिरहेको र बिहानैदेखि बजारमा पहिलेभन्दा बढी चहलपहल देखिन थालेको उनको भनाइ छ।

अर्का व्यापारी श्यामप्रकाश अधिकारीले दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको बताए। ग्राहकको चाप बढेपछि सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न व्यापारीलाई भ्याइनभ्याइ हुने गरेको उनले बताए। भृकुटीमण्डपमा कपडासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति पनि बढेको छ।एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुनु र आफ्नो बजेटअनुसार सामान छनोट गर्न सकिने भएकाले खुला बजार ग्राहकको रोजाइमा पर्ने गरेको व्यापारीहरूको भनाइ छ। विशेषगरी सीमित आम्दानी भएका परिवारका लागि चाडपर्वको समयमा सस्तो बजार उपयुक्त विकल्प बन्ने गरेको उनीहरू बताउँछन्। काठमाडौँ उपत्यकाका खुला बजार तथा सडक किनारका पसलमा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण बढेको हो।सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगा तथा कपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन्। चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्यसँगै गुणस्तरलाई समेत ध्यान दिने गरेको उनले बताइन्।

दसैँसँगै मौसममा पनि क्रमिक सुधार हुन थालेकाले चिसो मौसमका लागि आवश्यक न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्न थालेको छ। व्यापारी हरिकृष्ण कँडेलका अनुसार ज्याकेट, स्विटर, ट्र्याकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको चाप बढ्दै गएको छ।दसैँलगायत चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा र नयाँसडालगायत बजारमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीहरूले अपेक्षा गरेका छन्। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न उपत्यकाका साथै बाहिरी जिल्लाबाट काठमाडौँ आएका नागरिकसमेत किनमेलमा व्यस्त हुन थालेका छन्।व्यापारीहरूले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन्। ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरूले बताएका छन्। ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गरिरहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार