काठमाडौं । सामाजिक सञ्जालमा देखिने सस्तो सामानको लोभमा अनलाइन अर्डर गर्दा ग्राहक ठगीमा पर्ने घटना बढ्दै गएको छ। वास्तविक पसलको नाम, लोगो, फोटो तथा भिडियो चोरी गरेर फेक टिकटक र फेसबुक अकाउन्ट बनाउने तथा त्यसमार्फत ग्राहकलाई सम्पर्क गरी पैसा असुल्ने गिरोह सक्रिय हुन थालेका छन्। विशेषगरी पहिलोपटक अनलाइन किनमेल गर्ने र सामाजिक सञ्जालमा देखिएको सामग्रीलाई सहजै विश्वास गर्ने ग्राहकलाई उनीहरूले निशाना बनाउने गरेका छन्।सल्यानकी हीरा योगी यस्तै ठगीको पछिल्लो उदाहरण हुन्। उनले काठमाडौंको सुविधानगरस्थित आरभ फेन्सीको नाममा खोलिएको फेक टिकटक अकाउन्टबाट पाँच वटा टी–सर्ट अर्डर गर्दा करिब २६ हजार रुपैयाँ गुमाइन्। टिकटकमा पसल र गोदामसमेत देखाइएको लाइभ हेरेपछि अकाउन्ट वास्तविक भएको विश्वास गरेकी योगीले लाइभमै आफ्नो मोबाइल नम्बर छाडेकी थिइन्। त्यसपछि उनलाई ह्वाट्सएपमार्फत सम्पर्क गरी सामान डेलिभरीको प्रक्रिया भन्दै सुरुमा १ हजार २ सय रुपैयाँ पठाउन लगाइएको थियो।रकम ‘पेन्डिङ’ भएको भन्दै पैसा फिर्ता गरिदिने बहानामा स्क्यामरले योगीलाई मोबाइल बैंकिङमार्फत विभिन्न प्रक्रिया गर्न लगायो। आफू मोबाइल बैंकिङमा धेरै अभ्यस्त नभएको र पहिलोपटक अनलाइन सामान किन्न लागेको भएकाले उनले स्क्यामरले भनेअनुसार गरिन्। त्यस क्रममा उनको बैंक खाताबाट थप २४ हजार ७७९ रुपैयाँ निकालियो। खाताबाट पैसा काटिएपछि मात्रै आफू ठगीमा परेको उनले थाहा पाइन्।
त्यसपछि उनले बैंक र प्रहरीलाई खबर गरिन्। केही समयपछि वास्तविक आरभ फेन्सीबाट फोन आएपछि आफू फेक अकाउन्टको ठगीमा परेको पुष्टि भयो। पसलका कर्मचारीले आफ्नो वास्तविक अकाउन्टबाट गरिएको लाइभसमेत स्क्यामरले हेर्ने र त्यहीँबाट फोटो तथा विवरण लिएर ग्राहकलाई सम्पर्क गर्ने गरेको बताएका थिए। फेक अकाउन्टले योगीलाई ब्लक गरेपछि उनले थप जानकारीका लागि इसेवासमेत सम्पर्क गरेकी थिइन्।योगी मात्र होइन, सामाजिक सञ्जालमार्फत ठगीमा पर्ने ग्राहकको संख्या बढिरहेको छ। अनु फुयालले पनि टिकटकमा भाइरल भएको ‘फेशन सिल्पर’को भिडियो हेरेर बुट अर्डर गरेकी थिइन्। अग्रिम भुक्तानी गर्नुपर्ने बताएपछि उनले २ हजार ६ सय रुपैयाँ पठाइन्। तर सामान प्राप्त गर्नुको सट्टा उनलाई सम्बन्धित अकाउन्टबाट ब्लक गरियो।अनलाइन ठगीबाट ग्राहक मात्रै होइन, वास्तविक व्यवसायीसमेत समस्यामा परेका छन्। बुटवल मनिग्रामकी रिभा भण्डारीको ‘रिभा कलेक्सन’को नाममा समेत फेक टिकटक अकाउन्ट बनाएर ग्राहकसँग पैसा उठाइएको भेटिएको छ। त्यस्तै काठमाडौंको बत्तिसपुतलीस्थित कुर्थी एक्सप्रेसको नाम, लोगो, फोटो तथा भिडियोसमेत चोरी गरेर फेक अकाउन्ट सञ्चालन गरिएको व्यवसायीहरूले बताएका छन्। फेक अकाउन्टमा वास्तविक पसलभन्दा निकै सस्तो मूल्य राख्ने, ग्राहकलाई डीएम, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्ने र अग्रिम रकम लिएपछि फोन तथा अकाउन्ट ब्लक गर्ने गरिएको व्यवसायीहरूको भनाइ छ।कोरोनाकालपछि नेपालमा अनलाइन व्यापार तीव्र रूपमा विस्तार भएको छ। टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालले साना व्यवसायीदेखि ठूला व्यापारीसम्मलाई आफ्ना उत्पादन प्रचार तथा बिक्री गर्न सहज बनाएका छन्। तर यही सहजताको फाइदा उठाउँदै ठगी गर्ने गिरोह पनि सक्रिय भएपछि उपभोक्तामा अनलाइन किनमेलप्रति अविश्वास बढ्ने जोखिम देखिएको छ।
नेपालको विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ ले अनलाइन व्यापारलाई व्यवस्थित गर्न व्यवसायी सूचीकृत हुनुपर्ने, आफ्नो नाम, ठेगाना तथा सम्पर्क विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्ने र वस्तु तथा सेवाको मूल्य, विशेषता, उपलब्धता तथा डेलिभरीसम्बन्धी जानकारी उपभोक्तालाई दिनुपर्ने व्यवस्था गरेको छ। झुटो वा भ्रामक जानकारी दिएर कारोबार गर्नसमेत ऐनले रोक लगाएको छ।नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पछिल्लो समय टिकटक र फेसबुकमार्फत सामान अर्डर गर्दा ठगीमा परेको भन्दै उजुरी गर्नेको संख्या बढेको छ। ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार विभिन्न कारणले अनलाइन ठगीमा परेको रकममध्ये करिब १० प्रतिशत मात्रै फिर्ता ल्याउन सकिएको छ। ठगी भएको थाहा पाउनेबित्तिकै बैंक तथा वित्तीय संस्थालाई जानकारी गराए रकम रोक्का गरी फिर्ता हुने सम्भावना बढी हुने उनले बताएका छन्।साइबर ब्युरोले उपभोक्तालाई सामाजिक सञ्जालमा पसलको नाम राख्दैमा कुनै अकाउन्टलाई वैध व्यवसाय नमान्न आग्रह गरेको छ। सामान किन्नुअघि पसलको आधिकारिक अकाउन्ट, सम्पर्क नम्बर तथा ई–कमर्समा सूचीकृत अवस्था जाँच गर्न आवश्यक छ। अत्यधिक सस्तो मूल्य देखाएर तत्काल पैसा पठाउन दबाब दिने, व्यक्तिगत वा शंकास्पद क्यूआर पठाउने तथा रकम फिर्ता गर्ने बहानामा मोबाइल बैंकिङको कोड वा अन्य संवेदनशील विवरण माग्ने अकाउन्टबाट विशेष सावधान हुनुपर्ने देखिन्छ।