काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको बताए। बैठकमा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन तथा व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिए। उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तथा हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम अघि बढाइने बताए। साथै, विपद्का बेला आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।