दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा बैठक बोलाइयो

दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा बैठक बोलाइयो

काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ। चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने तथा बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न बैठक आयोजना गर्न लागिएको हो।

यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार बैठक असोज २० गते मंगलबार बिहान ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्नेछ। बैठकमा प्रहरी प्रशासन, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरूलाई सहभागी हुन विभागले पत्राचार गरेको छ। बैठकबाट चाडपर्वका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउनेलगायत यात्रु आवागमन व्यवस्थापनसम्बन्धी आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार