काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै पार्टी रूपान्तरणको स्पष्ट खाकासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव पेस गरेका छन्। प्रस्तावमा जननायक बीपी कोइरालाले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई २१औँ शताब्दीको परिवर्तित परिवेशअनुसार पुनर्व्याख्या गर्दै ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ निर्माणलाई कांग्रेसको मुख्य राजनीतिक ध्येय बनाइएको छ।
सभापति थापाले सत्ता र पदको भागबन्डामा केन्द्रित हुँदा पार्टी र नागरिकबीच दूरी बढेको स्वीकार गर्दै अब निर्वाचनपूर्व हुने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसले आफ्नै विचार, नीति र उम्मेदवारका आधारमा जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै संसद्मा प्रतिपक्षको भूमिकालाई केवल सरकारको विरोधमा सीमित नराखी प्रभावकारी खबरदारी र विश्वसनीय वैकल्पिक नीतिका रूपमा विकास गर्ने प्रस्तावमा उल्लेख गरिएको छ।आर्थिक क्षेत्रमा थापाले परम्परागत वितरणमुखी ढाँचाबाट अघि बढ्दै निजी क्षेत्रमैत्री, उत्पादनमुखी र सामाजिक न्यायमा आधारित तीन खम्बे अर्थतन्त्रको अवधारणा अघि सारेका छन्। नागरिकलाई राज्यमा आश्रित बनाउनेभन्दा शिक्षा, स्वास्थ्य, सीप र उद्यमशीलताको विकासमार्फत उनीहरूलाई श्रम र पुँजीको मालिक बनाउने नीति प्रस्तावमा समेटिएको छ। उच्च आर्थिक वृद्धि, उत्पादन विस्तार र सामाजिक न्यायलाई सँगसँगै अघि बढाउने लक्ष्य कांग्रेसले लिएको छ।
प्रस्तावमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने तथा कार्यकारी पदमा दुई कार्यकालको संवैधानिक सीमा कायम गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। संस्थागत सुशासनलाई बलियो बनाउन ‘गभर्नेन्स इन्स्टिच्युट’ र ‘निर्वाचन ब्युरो’ जस्ता संरचनागत संयन्त्र निर्माण गर्ने योजना पनि प्रस्ताव गरिएको छ।संगठनात्मक रूपान्तरणतर्फ कांग्रेसमा पाँच पुस्ताको सहयात्रा सुनिश्चित गर्ने उद्देश्यले १८ देखि २१ वर्ष उमेर समूहका लागि ‘युथ काउन्सिल’ तथा अग्रजहरूको अनुभव र ज्ञानलाई पार्टीमा उपयोग गर्न ‘विज्डम काउन्सिल’ गठन गर्ने प्रस्ताव गरिएको छ। यसबाट युवाको सहभागिता बढाउनुका साथै अनुभवी पुस्ताको ज्ञानलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ।त्यसैगरी पार्टी सदस्यतालाई पूर्ण रूपमा डिजिटल बनाउने, उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन अर्थात् ‘प्राइमरी’ प्रणाली लागू गर्ने र पार्टीको आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी बनाउने प्रतिबद्धता थापाले प्रस्तावमार्फत व्यक्त गरेका छन्। आगामी चार वर्षमा कांग्रेसलाई भाषण र नाराभन्दा परिणाम तथा नागरिकको जीवनस्तर सुधारमा केन्द्रित राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने उनको प्रस्तावको मूल उद्देश्य रहेको छ।