वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलाको पुल पुनर्निर्माणका लागि बेलिब्रिज जडान सुरु हुने भएको छ। नेपाली सेनाले पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बाराबाट वेत्रावती ल्याइरहेको छ। सबै सामग्री आजसम्म वेत्रावती आइपुग्ने र बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले पुल जडानको काम सुरु गर्ने जनाइएको छ। पुललाई दसैँको फूलपातीअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार सामान्य अवस्थामा बेलिब्रिज जडान गर्न करिब तीन दिन लाग्ने भए पनि पुरानो पुलको संरचना होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ। थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले पुल सञ्चालनमा ल्याउन केही दिन बढी लाग्नेछ। निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ भने यसको भारवहन क्षमता ६० टन रहनेछ।यसअघि वेत्रावतीमा रहेको पुल भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको थियो। सोही स्थानमा नयाँ पुल जडान गर्न पुरानो संरचनामा दुई मिटर उचाइ थप गरिएको हो। वेत्रावतीसम्म सडक पहुँच खुलेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो।

सडक पहुँच खुल्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट वेत्रावती पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन तथा पुरानो संरचनाको उचाइ थप गर्ने काम सम्पन्न गरिसकेको थियो। भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडकखण्ड पनि शनिबारदेखि सञ्चालनमा आएको छ।दसैँअघि वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुनुका साथै रसुवाको दैनिक जनजीवनसमेत सहज हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार