काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भोजपुरका रोहित विश्वकर्माले केन्द्रीय सदस्य (दलिततर्फ) मा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि पार्टी संगठन र वैचारिक अभियानमा सक्रिय विश्वकर्माले नीति, संगठन तथा नेतृत्व तहमा दलित र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
२०५१ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ कार्यसमितिबाट राजनीतिक यात्रा सुरु गरेका विश्वकर्माले नेपाल दलित संघ भोजपुरको सचिवका रूपमा तीन कार्यकाल र जिल्ला अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन्। उनी दलित संघको चौथो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए।
कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा भोजपुरबाट महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका विश्वकर्मा २०७४ र २०७९ को निर्वाचनमा भोजपुर प्रदेशसभा १ (क) बाट समानुपातिक उम्मेदवारसमेत बनेका थिए।विश्वकर्माले दलित तथा सीमान्तकृत समुदायका मुद्दालाई पार्टीको मूलधारमा ल्याउने, युवालाई राजनीतिमा जोड्ने तथा दलित समुदायका मौलिक सीपलाई आधुनिक प्रविधि, बजारीकरण र सहुलियतपूर्ण कर्जासँग जोड्ने नीतिका लागि पहल गर्ने बताएका छन्। उनले पार्टीभित्र समावेशी सहभागिता बलियो बनाउँदै दलित समुदायको राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।