काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मूल वैचारिक आधारका रूपमा निरन्तरता दिँदै बदलिँदो समयअनुसार यसको व्यवहार र कार्यान्वयनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ। काठमाडौँको खुलामञ्चमा सुरु भएको पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संस्थापक नेता बीपी कोइरालाले अघि सारेको वैचारिक परम्परालाई समकालीन आवश्यकता र नागरिकका बदलिँदा आकाङ्क्षासँग जोडेर अघि बढाउने प्रस्ताव गरिएको हो।प्रतिवेदनमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अलग–अलग रूपमा बुझ्न नहुने उल्लेख गर्दै यी तीनवटै कांग्रेसको वैचारिक आधारका परस्पर सम्बन्धित पक्ष भएको स्पष्ट गरिएको छ। मूल मूल्यमा दृढ रहँदै व्यवहारमा समयअनुकूल परिवर्तन गर्नुपर्ने भन्दै थापाले व्यवहार परिवर्तन नभए विचार जड बन्ने बताएका छन्। कांग्रेसले अब यही वैचारिक आधारलाई ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को राष्ट्रिय ध्येयसँग जोड्ने प्रस्ताव गरेको छ।प्रतिवेदनले राष्ट्रियतालाई केवल भूगोल र राज्यको सार्वभौमिकतामा सीमित नगरी नेपाली नागरिकले आफ्नो साझा भविष्य आफैँ निर्धारण गर्न सक्ने सामूहिक स्वाधीनताका रूपमा व्याख्या गरेको छ। बदलिँदो विश्वमा राष्ट्रिय स्वाधीनता सीमाको रक्षा र कूटनीतिक स्वतन्त्रतामा मात्र सीमित नरहने भन्दै आर्थिक, प्राविधिक, ज्ञान, उत्पादन, ऊर्जा, खाद्य तथा संस्थागत क्षेत्रमा राष्ट्रिय क्षमता विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
लोकतन्त्रलाई पनि केवल निर्वाचनमार्फत सरकार गठन गर्ने प्रक्रियाका रूपमा नहेरी सार्वजनिक शक्तिको वास्तविक स्रोत र स्वामी नागरिक नै हुने व्यवस्थाका रूपमा व्याख्या गरिएको छ। अभिव्यक्ति तथा सङ्गठनको स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, सञ्चारमाध्यम र सार्वजनिक निगरानीमार्फत राज्यशक्तिलाई नागरिकप्रति उत्तरदायी बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। नागरिक मतदाता मात्र नभई अधिकारधारी, करदाता, सेवाग्राही, उत्पादक र सार्वजनिक निर्णयका सहलेखकसमेत भएको कांग्रेसको धारणा छ।त्यस्तै, कांग्रेसको लोकतान्त्रिक समाजवादले राजनीतिक स्वतन्त्रतालाई सामाजिक तथा आर्थिक क्षमतासँग जोडेको छ। भोक, अशिक्षा, बेरोजगारी, अस्वस्थता र सामाजिक विभेदबाट मुक्त नभएसम्म नागरिकले वास्तविक स्वतन्त्रताको अनुभूति गर्न नसक्ने भन्दै शिक्षा, स्वास्थ्य, पोषण, सीप, रोजगारी, उद्यम, सामाजिक सुरक्षा र न्यायमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यसको उद्देश्य नागरिकलाई राज्यमा सधैँ निर्भर बनाउने नभई स्वतन्त्र, सक्षम र सिर्जनशील बनाउनु रहेको कांग्रेसले जनाएको छ।प्रतिवेदनले राष्ट्रियता, लोकतन्त्र र समाजवादबीचको सम्बन्धलाई कांग्रेसको वैचारिक शक्तिको मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ। लोकतन्त्रबाट अलग राष्ट्रियता राज्यकेन्द्रित हुन सक्ने, लोकतन्त्रबाट अलग समाजवाद नियन्त्रणकारी बन्न सक्ने र सामाजिक–आर्थिक क्षमताविनाको लोकतन्त्र औपचारिक समानतामा सीमित हुन सक्ने विश्लेषण गर्दै तीनवटै आदर्शको सन्तुलन आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ।
बीपी कोइरालादेखि सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, भीमबहादुर तामाङ र प्रदीप गिरिसम्मका नेता तथा चिन्तकले कांग्रेसको वैचारिक परम्परालाई समृद्ध बनाएको प्रतिवेदनमा उल्लेख छ। पछिल्ला पुस्ताले पनि अध्ययन, बहस, सामाजिक अनुभव र आत्मालोचनामार्फत उक्त परम्परालाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ। दलित, महिला, मधेशी तथा अन्य बहिष्करणमा परेका समुदायको अनुभवलाई समेट्न नसक्ने समाजवाद अधुरो हुने कांग्रेसको निष्कर्ष छ।प्रतिवेदनमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको अवधारणालाई पनि समकालीन सन्दर्भमा पुनर्व्याख्या गरिएको छ। आज राष्ट्रिय मेलमिलापलाई विगतको राजनीतिक सम्झौताको रणनीतिमा मात्र सीमित नगरी विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, पुस्ता र राजनीतिक विचारबीच साझा राष्ट्रिय स्वामित्व, विश्वास र सहअस्तित्व निर्माण गर्ने आधारका रूपमा विकास गर्नुपर्ने उल्लेख छ।कांग्रेसले आफ्नो वैचारिक पुनर्जागरणलाई ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासँग जोडेको छ। प्रतिवेदनअनुसार समुन्नति नयाँ विचारधारा नभई राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादका मूल मान्यतालाई नागरिकको क्षमता, अवसर, सम्मान, सामाजिक न्याय र साझा भविष्यसँग जोड्ने समकालीन राजनीतिक दिशा हो। आगामी चार वर्षमा कांग्रेसको प्राथमिकता केवल आर्थिक समृद्धि हासिल गर्नु नभई नागरिकले स्वतन्त्रता, अवसर, न्याय र सम्मानको अनुभूति गर्ने ‘समुन्नत नेपाल’ निर्माण गर्नु हुने सभापति थापाले बताएका छन्।