काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस प्रतिपक्षमा रहे पनि समाजमा आवेग, अनपेक्षित द्वन्द्व र निराशा फैलाउने पक्षमा नरहेको बताएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा समसामयिक प्रस्ताव पेस गर्दै शर्माले प्रतिपक्षले सरकारका कमजोरी औँल्याउँदै नागरिकका प्रश्नलाई बलियो बनाउनुपर्ने भए पनि समाजमा आशाको दियो निभ्न नदिने जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले नेपालको राजनीतिक संस्कृतिमा अनुकरणीय पक्षहरू रहे पनि विभिन्न कमजोरी र खराब व्यवहारका कारण समग्र राजनीतिप्रति नागरिकको विकर्षण बढेको उल्लेख गरे । कुनै पनि राजनीतिक प्रणालीको सफलता त्यसका सञ्चालक, सदस्य, प्रतिस्पर्धी र समर्थकको संस्कार तथा व्यवहारमा निर्भर हुने उनको भनाइ छ । वर्तमान संविधान क्रमशः राष्ट्रिय एकताको साझा दस्ताबेज बन्दै गएको उल्लेख गर्दै शर्माले त्यसप्रतिको अपनत्वको दायरा अझ विस्तार गर्नुपर्ने बताए । संसदीय लोकतान्त्रिक पद्धति सबैको साझा बाटो बनिसकेको भन्दै उनले राजनीतिक संस्कृतिमा आएको क्षय अन्त्य गर्न शब्दमा मात्र नभई व्यवहारमै परिवर्तन आवश्यक रहेको बताए । महाधिवेशनको बन्दसत्रमार्फत कांग्रेसले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै अघि बढ्ने संकल्प गर्नुपर्ने उल्लेख गर्दै शर्माले नेपाली राजनीतिक संस्कृतिको युगानुकूल रूपान्तरण र पुनर्जागरणका लागि कांग्रेसले गम्भीर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।