काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभीए क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्ने काममा बदनियतपूर्ण तवरले ढिलासुस्ती गरी अनावश्यक दुःख–हैरानी दिएको पुष्टि भएको छ। सेवाग्राहीलाई घुस दिन बाध्य पारी विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरेबापत ५० हजार रुपैयाँ घुस माग गरी लिएको पनि अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर ५० हजार रुपैयाँ जरिवाना सजाय हुन मागदाबी गरेको छ। आयोगले ५० हजार रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।