दसैँअघि बाढीपहिरो प्रभावित मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

दसैँअघि बाढीपहिरो प्रभावित मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडकहरू मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी तीव्र बनाएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्का कारण क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडकमा मर्मतको काम अघि बढाइएको छ। रसुवाको धुन्चेसम्म आगामी ४–५ दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको विभागले जनाएको छ। मुस्ताङतर्फको सडकसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

नेपाल प्रहरीका अनुसार रसुवाका मुख्य राजमार्ग भोटेकोशी बाढीका कारण अवरुद्ध छन्। यस्तै, म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र मनाङको बेँसीसहर–खाङ्सार सडक भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। सरकारले बाँकी अवरुद्ध सडकहरू पनि यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र मर्मत कार्य अघि बढाएको जनाएको छ। सडक विभागका अनुसार यात्रामा केही कठिनाइ भए पनि दसैँका बेला उपत्यकाबाट घर जाने यात्रु तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी पूर्ण रूपमा रोकिँदैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार