एआई ग्लोबल समिटमा नेपालको सहभागिताका लागि स्विट्जरल्यान्डको निमन्त्रणा

एआई ग्लोबल समिटमा नेपालको सहभागिताका लागि स्विट्जरल्यान्डको निमन्त्रणा

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ।

भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए। उनले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन अनुकूल वातावरण बन्दै गएको जानकारी दिए। सो अवसरमा डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा समेत छलफल भएको थियो।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएकी छन्। उनले सम्मेलनमा नेपालको प्राथमिकता तथा सम्बन्धित सरोकारवालाका चासोका विषयमा समेत जानकारी लिएकी थिइन्। भेटवार्तामा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको छ। हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनका लागि सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार