काठमाडौं । अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजका क्रममा नेपालका बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ अमेरिकी डलर सहयोग जुटाइएको छ ।
सिरिजका क्रममा संकलित उक्त रकम युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिने भएको छ । नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोगमा खर्च गरिने उक्त रकममार्फत जीवनरक्षक स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराइने जनाइएको छ । सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने र प्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ ।
नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजमा सहभागी भएको थियो । सिरिज चलिरहेका बेला नेपालका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढी आएको थियो । बाढीबाट प्रभावित नेपाली नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गर्दै युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न अपिलसमेत गरेको थियो ।