समाजवादी जागरण अभियानबारे छलफल गर्न नेकपा संयोजन समितिको बैठक बस्दै

समाजवादी जागरण अभियानबारे छलफल गर्न नेकपा संयोजन समितिको बैठक बस्दै

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महाधिवेशनको कार्यतालिका सञ्चालनसम्बन्धी कार्यविधि तथा वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको ‘समाजवादी जागरण अभियान’बारे छलफल गर्न शुक्रबार केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकले महाधिवेशनको कार्यतालिकासम्बन्धी कार्यविधि पारित गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने जनाइएको छ। ज्वालाका अनुसार दसैँ–तिहारको अवसरमा विभिन्न स्थानमा जमघट तथा भेटघाट हुने भएकाले त्यसलाई लक्षित गरी पार्टीले पनि अभियान सञ्चालन गर्न लागेको हो। खनाललाई यस विषयमा स्पष्टीकरण सोध्ने वा नसोध्ने भन्ने निर्णय पनि बैठकले नै गर्ने उनले बताए। यसअघि असोज ६ गते बसेको बैठकले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, पार्टीले कारबाही गरेका केही नेताहरूसँग मिलेर खनालले छुट्टै समाजवादी जागरण अभियान घोषणा गरेपछि यो विषय नेकपाभित्र चर्चामा आएको हो। खनाल बैठकमा उपस्थित भए उनले आफ्ना धारणा राख्ने र उपस्थित नभए संयोजकले विषय स्पष्ट पार्ने ज्वालाले बताए।

समाजवादी जागरण अभियान घोषणा गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २० गते मानभवनमा खनालसँग करिब डेढ घण्टा छलफल गरेका थिए। उक्त भेटमा खनालले विभिन्न वामपन्थी नेताहरूको आग्रहमा आफूले अभियानको नेतृत्व गरेको तर पार्टी भने नछोडेको स्पष्ट पारेका थिए। खनालले आफू नेकपामै प्रतिबद्ध रहेको बताउँदै अभियानको उद्देश्य छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई वैचारिक आधारमा एकताबद्ध गर्नु र वामपन्थी एकतालाई थप सुदृढ बनाउनु रहेको बताएका छन्। उनले आफूले पार्टी छोडेको भन्ने प्रचारमा कुनै सत्यता नरहेको दाबी गर्दै समग्र वामपन्थी आन्दोलनलाई एकता र सुदृढ बनाउन अभियान घोषणा गरिएको बताएका छन्। रातोपाटीसँगको कुराकानीमा पनि खनालले आफू नेकपामै रहेको र अभियान वामपन्थी आन्दोलनलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको बताएका छन्। उनका अनुसार अभियानबारे नेकपा संयोजक प्रचण्ड पनि सकारात्मक छन्। खनालको नेतृत्वमा विभिन्न वामपन्थी नेताहरूले शनिबार गरेको गोप्य भेलाले समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार