जसपा केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

जसपा केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक जारी छ। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ। हिजोदेखि सुरु भएको बैठकमा प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई सात वटा समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहमा एक–एक जना संयोजक तोकिएको छ। समूहगत छलफलपछि सातै जना संयोजकले प्रतिवेदनमाथि आएका सुझाव तथा धारणा बैठकमा प्रस्तुत गर्नेछन्। प्राप्त सुझावका आधारमा राजनीतिक प्रतिवेदनमा आवश्यक संशोधन गरी पारित गरिने पार्टीका सचिव शैलेन्द्र साहले जानकारी दिए।

बैठकमा सांगठनिक प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ। यद्यपि सांगठनिक प्रतिवेदनमाथि सबै सदस्यले अनिवार्य रूपमा बोल्नुपर्ने व्यवस्था नगरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसैबीच, पार्टीले केन्द्रीय सदस्यहरूलाई विभिन्न विभागको जिम्मेवारी रोज्न फाराम भराएको छ। बुधबार फाराम भर्न लगाइएको र सबैले फाराम बुझाइसकेको बताइएको छ। प्राप्त विवरणका आधारमा छलफल गरी केन्द्रीय समितिको बैठकले विभागीय जिम्मेवारी तथा कार्यविभाजन गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार