स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग

स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिरहेको बताएका छन्। बुधबार आयोजित एक कार्यक्रममा उनले आयोग सदैव निर्वाचनको तयारीमा रहने उल्लेख गर्दै सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निष्पक्ष र विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी आयोगको रहेको बताए।

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचारबारे प्रश्नमा प्रमुख निर्वाचन आयुक्त कार्कीले अहिले नै निर्वाचनको मितिबारे आयोगले केही भन्न नमिल्ने बताए। संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उल्लेख गर्दै उनले स्थानीय तह लामो समयसम्म रिक्त राख्न नहुने पक्षमा आयोग रहेको बताए। सोहीअनुसार निर्वाचनको तयारी भइरहेको उनको भनाइ थियो।

आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको आसपासमा संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने उनले बताए। स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा भने उनले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार नै निर्वाचन हुने स्पष्ट पारे। निर्वाचन एकैसाथ हुने वा नहुने विषय अहिले नै निश्चित भन्न नसकिने भन्दै उनले सरकारले मिति घोषणा गरेपछि त्यसअनुसार आयोगले आवश्यक काम अघि बढाउने बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार