मतपत्र तयार गर्न ढिलाइ हुँदा कांग्रेस महाधिवेशनको मतदान प्रभावित

मतपत्र तयार गर्न ढिलाइ हुँदा कांग्रेस महाधिवेशनको मतदान प्रभावित

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा ढिलाइ भएको छ। मतपत्र तयार गर्न समय लागेका कारण बिहीबार दिउँसो साढे २ बजेदेखि सुरु हुने भनिएको मतदान पौने ३ बजेसम्म पनि सुरु हुन सकेको छैन।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। तर, विभिन्न क्लस्टरका मतपत्र तयार भइनसकेकाले मतदान कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन हुन नसकेको निर्वाचन समितिका एक सदस्यले बताएका छन्। निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेपछि साढे २ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेको थियो। यसअघि पनि मतदानको समय तीन पटक परिवर्तन भइसकेको छ।

मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्चसहित विभिन्न स्थानमा केन्द्र तोकिएका छन्। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र ‘क’ तोकिएको छ भने खुलामञ्चमा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन्। त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदान सम्पन्न भएपछि तत्काल मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार