पाल्पामा पहिरोको त्रास : ६८ घर जोखिममा, पाँच जनाको मृत्यु

पाल्पामा पहिरोको त्रास : ६८ घर जोखिममा, पाँच जनाको मृत्यु

पाल्पा — चार दिनसम्म परेको अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो, बाढी र जमिन चिरिने समस्या बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। वर्षाका कारण जिल्लाका ६८ घर जोखिममा परेका छन् भने ३३ घरमा क्षति पुगेको छ। विपद्का कारण २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोमा परी पाँच जनाको ज्यान गएको छ। रिब्दीकोट गाउँपालिका–सिरुखर्कका मीनबहादुर थापाको परिवारले पनि पहिरोका कारण केही दिन घर छाड्नुपर्‍यो। असोज ९ गते राति करिब १ बजे घरमुनिबाट ठूलो आवाज आएपछि ब्युँझिएका थापाले घरमुनिबाट पहिरो खसिरहेको देखे। पहिरोले घर तान्न थालेपछि उनले श्रीमती र दुई छोराछोरीलाई लिएर छिमेकीको घरमा आश्रय लिए। अहिले वर्षा रोकिएपछि घर फर्किए पनि घरमुनिको जमिन पहिरोले बगाएको र माथिल्लो भागसमेत चिरिएकाले उनी अझै त्रासमा छन्। तिनाउ गाउँपालिका–कचलका थर्कबहादुर सारुको अवस्था पनि उस्तै छ। आफ्नो एकमात्र घर पहिरोको उच्च जोखिममा परेपछि उनी दिनभर घर र पहिरोले बगाएको बारी हेर्दै बिताउँछन् भने राति छिमेकीको घरमा बस्दै आएका छन्। आर्थिक अवस्था कमजोर रहेका सारुले ऋण गरेर बनाएको घरसमेत पहिरोका कारण बस्न नसकिने अवस्थामा पुगेपछि परिवारको भविष्यप्रति चिन्ता बढेको बताएका छन्। माथागढी गाउँपालिका–४ देउगीरका महेन्द्र केसीको घर पनि जोखिममा परेको छ। घरअगाडिको सडक छियाछिया परेको र जमिन चिरिन थालेपछि पानी पर्दा घर नै भत्किने हो कि भन्ने डर स्थानीयमा छ। देउगीर बजारको बीच भागबाटै बासटारी–झडेवा–दुम्कीबास बहुप्रदेशीय सडकअन्तर्गत करिब २०० मिटर लामो धाँजा फाटेपछि सिङ्गो बजार पहिरोको उच्च जोखिममा परेको छ। यहाँका करिब ३० घरपरिवार जोखिममा छन्। बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजङ्ग श्रेष्ठ र अर्जुन श्रेष्ठलगायतका घरमा चिरा देखिएका छन्।

सम्भावित क्षति कम गर्न स्थानीयवासीले आफ्नै प्रयासमा धाँजा फाटेका ठाउँमा प्लास्टिक र त्रिपाल राखेका छन्, ताकि वर्षाको पानी जमिनभित्र नपसोस्। देउगीर क्षेत्रमा देखिएको जोखिमबारे प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्राविधिक इन्जिनियरको टोलीले स्थलगत निरीक्षण गरेको छ। प्रारम्भिक निरीक्षणमा क्षेत्र जोखिमयुक्त देखिएपछि भू–गर्भविद्मार्फत विस्तृत वैज्ञानिक अध्ययन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताएका छन्। सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर तेजप्रसाद अधिकारीका अनुसार जमिन किन र कुन प्रकृतिले चिरिएको हो भन्ने यकिन गर्न विस्तृत भू–गर्भीय अध्ययन आवश्यक छ। अध्ययनको प्रतिवेदन नआएसम्म जोखिम बढ्न सक्ने भएकाले देउगीर क्षेत्रमा ठूला तथा भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। माथागढी–३ का कसेनी–सराई–भैँसकट्टा क्षेत्रमा पनि करिब ७५ मिटर लामो जमिन चिरिएको छ। यसबाट करिब १० घरपरिवार जोखिममा परेका छन् भने सिकारकोट–डुमिरडाँडा क्षेत्रमा समेत जमिन चिराचिरा परेको छ। चार दिनसम्मको अविरल वर्षाले जिल्लामा मानवीय क्षतिसमेत ठूलो बनाएको छ। माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको मृत्यु भएको छ। यस्तै माथागढी–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। वर्षासँगै आएको पहिरो र बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक तथा पुलमा समेत क्षति पुर्‍याएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–राम्दी सडकखण्डको माथागढी–१ चिदिपानी, धेरैनी क्षेत्रमा सडकको तल्लो भाग कटान हुनुका साथै राजमार्गको आधा भाग भासिएको छ। यसले सवारीसाधन सञ्चालनमा समस्या भएको छ। रैनादेवी छहराको सुन्दरेढुङ्गा जोड्ने मोटरबाटो, रिब्दीकोटको मुझुङ–मैनादी सडक, पूर्वखोला जोड्ने ग्रामीण सडक तथा माथागढी गाउँपालिकाको केन्द्रदेखि रूपन्देहीको खैरेनी जोड्ने सडकसमेत पहिरोका कारण प्रभावित भएका छन्।

सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको यातायात सम्पर्क मात्र प्रभावित भएको छैन, किसानले उत्पादन गरेका दूध, तरकारी र खुर्सानीसमेत बजारसम्म पुर्‍याउन समस्या भएको छ। अहिले खुर्सानी उत्पादनको मुख्य समय भएकाले सडक अवरुद्ध हुँदा खेतमा पाकेका खुर्सानी कुहिन थालेका छन्। उत्पादन राम्रो भए पनि बजारसम्म लैजान नसक्दा किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ। कालीगण्डकी नदीमा आएको बाढीले रामपुर नगरपालिका–३ केलादीस्थित मोटरेबल पुलमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढी पुलभन्दा माथिबाट बगेपछि पुलका पाल्पातर्फका दुई स्पानमा क्षति पुगेको छ। बेरिङ, बेरिङ स्टपर तथा रेलिङमा क्षति हुनुका साथै पुलका स्ल्याबसमेत पूर्वतर्फ सरेका छन्। जोखिमलाई ध्यानमा राख्दै पुलमा तत्कालका लागि आवागमन रोकिएको छ। रामपुर–मित्याल हुँदै पूर्वी नवलपरासीको अरुणखोला जोड्ने सडकखण्डको अर्को पुलमा समेत क्षति पुगेपछि आवागमन रोकिएको छ। वर्षाका कारण पाल्पाका किसानसमेत ठूलो मारमा परेका छन्। तिनाउ, माथागढी, बगनासकाली, तानसेन र पूर्वखोलालगायत क्षेत्रमा लगाइएको धानबाली बाढी र डुबानका कारण क्षतिग्रस्त भएको छ। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार हालसम्म ३०० भन्दा बढी किसानको खेतीमा असर परेको अनुमान छ। तिनाउ, धोन्द्रे, सिप्जर, नायर र बाहखोला क्षेत्रमा आएको बाढीले धानबालीमा क्षति पुर्‍याएको छ भने माडीफाँटको ५० प्रतिशतभन्दा बढी क्षेत्र डुबानमा परेको थियो। स्थानीयका अनुसार ढल निकासको उचित व्यवस्थापन नहुँदा माडीफाँटका खेतीयोग्य जमिन हरेक वर्ष डुबानमा पर्ने गरेका छन्। यस वर्ष पनि तिनाउ नदी र तानसेन खोलामा आएको ठूलो बाढीका कारण धानबाली डुबानमा परेपछि किसान चिन्तित छन्। लगातारको वर्षा, पहिरो, सडक तथा पुलमा भएको क्षति र कृषि उत्पादनमा परेको असरले पाल्पामा विपद्को प्रभाव व्यापक बनेको छ। वर्षा रोकिए पनि चिरिएको जमिन र जोखिमयुक्त बस्तीका कारण स्थानीयमा त्रास भने अझै कायमै छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार