काभ्रे । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी काभ्रे जिल्लाका दुई हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा उनीहरूको नाम हटाएको हो। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना रहेका छन्। मृत्यु भएका मतदाताको नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ३७५ जना रहेका छन्। त्यस्तै, पनौती नगरपालिकामा २९६, नमोबुद्ध नगरपालिकामा २८१, बनेपा नगरपालिकामा २४०, धुलिखेल नगरपालिकामा ९७, महाभारत गाउँपालिकामा ६५, पाँचखाल नगरपालिकामा ३४ र बेथानचोक गाउँपालिकामा १४ जनाको नाम हटाइएको छ।
दोहोरो दर्ताका कारण पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ। चौँरीदेउराली गाउँपालिकामा ११८, नमोबुद्ध नगरपालिकामा १०९, पाँचखाल नगरपालिकामा १०४, मण्डनदेउपुर नगरपालिकामा १०१ र रोशी गाउँपालिकामा ९९ जनाको नाम हटाइएको छ। त्यसैगरी, तेमाल गाउँपालिकामा ८२, धुलिखेल र बनेपा नगरपालिकामा ८०–८०, बेथानचोक गाउँपालिकामा ७४, भुम्लु गाउँपालिकामा ७२, महाभारत गाउँपालिकामा ७० तथा खानीखोला गाउँपालिकामा ६८ जनाको दोहोरो दर्ता हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए।
नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ। मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरी समग्रमा नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ जना र पनौती नगरपालिकामा ४३८ जना रहेका छन्। त्यस्तै, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८, महाभारत गाउँपालिकामा १३५, चौँरीदेउराली गाउँपालिकामा ११८, मण्डनदेउपुर नगरपालिकामा १०२, रोशी गाउँपालिकामा ९९, बेथानचोक गाउँपालिकामा ८८, तेमाल गाउँपालिकामा ८२ र खानीखोला गाउँपालिकामा ६८ जनाको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।