काठमाडौँ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले रवि लामिछाने र बालेन शाहलाई राजनीतिक विकल्पका रूपमा अघि सार्दा मुलुकमा फेरि विद्रोह दोहोरिन सक्ने चेतावनी दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले नयाँ अनुहार आए पनि राजनीतिक आचरण पुरानै रहेको टिप्पणी गरेका हुन्।
ढुङ्गानाले नेपाली कांग्रेससहित रवि–बालेनलाई उस्तै प्रकृतिका राजनीतिक शक्तिका रूपमा चित्रण गर्दै उनीहरूको कार्यशैली र आचरणमा खासै भिन्नता नरहेको दाबी गरेका छन्। ‘५ जना अनुहार फेरिए, कांग्रेस फेरियो रे। ३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनुपर्ने रे,’ उनले लेखेका छन्। गत भदौमा भएको जेनजी विद्रोहले नेपाली समाजमा बढ्दै गएको निराशाको समाधान र राजनीतिक पुनर्गठनको माग गरेको उल्लेख गर्दै ढुङ्गानाले नयाँ आवरणमा प्रस्तुत भएका पुराना राजनीतिक प्रवृत्तिबाट जनताको अपेक्षा पूरा हुन नसक्ने बताएका छन्। उनले वर्तमान राजनीतिक निराशाको समाधानका लागि पुराना दल र अहिले चर्चामा रहेका राजनीतिक शक्तिभन्दा अलग तेस्रो राजनीतिक ध्रुव आवश्यक रहेको औँल्याएका छन्।
‘यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ,’ ढुङ्गानाले फेसबुक स्ट्याटसमा लेखेका छन्। उनले राजनीतिक विकल्पका नाममा पुरानै प्रवृत्ति दोहोरिए जनआक्रोश पुनः विस्फोट हुन सक्ने संकेत गरेका छन्।