काठमाडौं। सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात तथा अस्पताललगायतका अत्यावश्यक सेवा नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमार्फत सरकारले उक्त निर्णय सार्वजनिक गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको जानकारी दिए। नागरिकले सेवा लिने क्रममा अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले केन्द्रीय अनुगमन समितिले आवश्यक निर्णय गरेको उनले बताए।
यसैगरी, सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी गरेको छ। यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए। सरकारले उक्त कार्यविधिमार्फत लगानी प्रक्रियालाई व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। लगानीसम्बन्धी सेवा प्रवाहमा सुधार ल्याई लगानीकर्तालाई सहज वातावरण उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ।