वीरगञ्ज। नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगीको सदस्यता खारेजीको माग गरिएको छ। बिहीबार राति करिब १० बजे रास्वपा प्रवेश गरेका एमालेका केन्द्रीय सदस्य सरावगीको सदस्यता १८ घण्टा नबित्दै खारेज गर्न माग गरिएको हो।
रास्वपा पर्सा जिल्ला कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालयलाई पत्र लेख्दै सरावगीको सदस्यता खारेज गर्न माग गरेको छ। जिल्ला सचिव सुदिश प्रजापतिले केन्द्रीय महामन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा सरावगीको नाममा पीआरएस १ ख ०००४३५७७६ नम्बरबाट सदस्यता जारी भएको उल्लेख गरेका छन्। तर, उक्त सदस्यताबारे जिल्ला कार्यसमितिलाई कुनै जानकारी नभएको पत्रमा जनाइएको छ।
पत्रमा सरावगीको सदस्यताप्रति पर्साका अन्य पार्टी पङ्क्तिको समेत असहमति रहेको उल्लेख गर्दै सदस्यता खारेज गरिदिन अनुरोध गरिएको छ।