काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अनसनरत डिल्ली हरिजनबीच शुक्रबार तीन बुँदे सहमति भएको छ। सहमतिसँगै हरिजनले आफ्नो आमरण अनसन तोडेका छन्।
सम्झौताअनुसार एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्तासम्बन्धी पूर्वसहमतिका बुँदा नम्बर १ र २ लाई चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने निर्णय गरिएको छ। त्यस्तै, अन्य मागका बुँदा नम्बर २, ३, ४ र ५ का सम्बन्धमा आयोगबाट आवश्यक सम्बोधन भइरहेको र थप सम्बोधन गरिने सहमति भएको छ।
सहमति पत्रमा मन्त्रालयका सहसचिव जयराम अधिकारी, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव हरिप्रसाद निरौला र अनसनरत डिल्ली हरिजनले हस्ताक्षर गरेका छन्। सहमतिका क्रममा अन्य विद्यार्थी प्रतिनिधिहरू रोहवरमा रहेका थिए। यसअघि २०८३ साउन २२ गते भएको सम्झौता कार्यान्वयनको माग गर्दै हरिजन आश्विन १९ गतेदेखि चिकित्सा शिक्षा आयोगको परिसरमा पुनः आमरण अनसनमा बसेका थिए। सोही विषयमा हरिजन र सरकारी पक्षबीच भएको वार्तापछि तीन बुँदे सहमति भएको हो।