काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा इजरायली प्रविधि भित्र्याउने योजनाबारे प्रश्न गरेका छन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद विष्टले इजरायलको आधुनिक कृषि प्रविधिलाई नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयोग गर्न सके कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए। उनले नेपालबाट इजरायलमा कामदारका रूपमा जाने क्रमसँगै कृषि प्रविधि हस्तान्तरण र लगानी आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिए। साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका रैथाने बाली लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै जुम्लाको मार्सी धानलगायतका उत्पादनको संरक्षण, व्यावसायिक खेती, अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन र निर्यात विस्तारका लागि प्रस्तावित राजदूतको योजना के छ भन्ने जिज्ञासा राखे। उनले नेपालको भौगोलिक विविधताअनुसार कृषि विकासका सम्भावना पहिचान गरी राष्ट्रिय हित प्रवर्द्धन गर्न राजदूतको भूमिका महत्त्वपूर्ण हुने बताए।