• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुन प्रस्तावित राजदूत जोशीलाई सांसद चौलागाईंको सुझाव

दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय स्वार्थमा केन्द्रित हुन प्रस्तावित राजदूत जोशीलाई सांसद चौलागाईंको सुझाव

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीलाई कूटनीतिक मर्यादा कायम राख्दै दाताकेन्द्रित सोचबाट मुक्त भएर नेपालको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन सुझाव दिएका छन्। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद चौलागाईंले जोशीको विगतको संयुक्त राष्ट्रसङ्घ (यूएन) लगायत अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवलाई उल्लेख गर्दै कूटनीतिक तटस्थता, राष्ट्रिय हित र भू–राजनीतिक संवेदनशीलताबारे प्रश्न उठाएका हुन्। उनले जर्मनीसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थ र सामाजिक मौलिकतालाई केन्द्रमा राखेर कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट धारणा मागेका छन्। साथै, बोनस्थित नेपाली दूतावासको पुरानो भवन तथा जग्गाको कानुनी जटिलता समाधान गरी बर्लिनमा भइरहेको अतिरिक्त भाडा खर्च अन्त्य गर्न पदभार ग्रहण गरेको कति समयभित्र ठोस परिणाम निकाल्न सकिन्छ भन्नेबारे पनि उनले कार्ययोजना र समयसीमा माग गरेका छन्। सांसद चौलागाईंले नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षा कालोसूचीबाट हटाउन गरिने पहल, दक्ष तथा प्राविधिक जनशक्ति विदेश पठाउँदा देशलाई पर्ने प्रभाव, बौद्धिक जनशक्ति पलायन नियन्त्रण र जलवायु कोषबाट नेपालले लिन सक्ने लाभबारे समेत प्रश्न गरेका छन्। विगतमा राजदूतहरूले राम्रा कार्ययोजना प्रस्तुत गरे पनि कार्यकालमा औपचारिक कार्यक्रममा मात्र सीमित हुने गरेको टिप्पणी गर्दै उनले प्रस्तावित राजदूत जोशीलाई नतिजामुखी कूटनीतिमा जोड दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार