• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

घाँसमाथि कालोपत्रे गर्न थालेपछि टीकापुरमा रोकियो सडक निर्माण

घाँसमाथि कालोपत्रे गर्न थालेपछि टीकापुरमा रोकियो सडक निर्माण

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ स्थित अर्नुवा जाने सडकमा घाँस नहटाई कालोपत्रे गर्न थालेपछि निर्माण कार्य रोकिएको छ। सडक निर्माणको गुणस्तरमाथि प्रश्न उठाउँदै स्थानीयले गुनासो गरेपछि वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले तत्काल काम रोक्न निर्देशन दिएका हुन्। प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटमा ३०० मिटर सडक निर्माण भइरहेको छ। सडकको बेसमा घाँस बाँकी रहेकै अवस्थामा कालोपत्रे गर्न थालेपछि स्थानीय योगेन्द्र साउँदले आपत्ति जनाउँदै वडाध्यक्षलाई फोनमार्फत जानकारी गराएका थिए। त्यसपछि नगरपालिकाको प्राविधिक टोलीले पनि निर्माणस्थलको निरीक्षण गरेको थियो।

निर्माण कम्पनीका अनुसार वर्षायाममा सडकको बेस बिछ्याइए पनि वर्षाका कारण समयमै कालोपत्रे गर्न सकिएको थिएन। लामो समयसम्म बेस खुला रहँदा घाँस उम्रिएको र घाँस हटाउन श्रमिक परिचालन गरिए पनि केही स्थानमा घाँस बाँकी रहेकै अवस्थामा कालोपत्रे गरिएको थियो। वडाध्यक्ष ठकुल्लाले सडकको डिजाइन, इस्टिमेट तथा प्राविधिक पक्ष प्रदेश सरकारका सम्बन्धित प्राविधिकको जिम्मेवारीमा रहेको बताए। उनका अनुसार प्रदेश सरकारका प्राविधिकलाई स्थलगत निरीक्षणका लागि बोलाइएको छ। प्राविधिकको निरीक्षण र निर्देशनपछि मात्रै सडक निर्माणको काम पुनः अघि बढाइनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार