चितवन, असोज २९। नारायणी नदी किनारमा खुट्टा धुने क्रममा आमा र छोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नदी किनारमा खुट्टा धुन गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन्। घटनामा उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी छोरीको उद्धार गर्न सफल भएको हो। बेपत्ता आमा सिर्जना र छोरा प्रशिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।