काठमाडौं । हिमालयन बैंक लिमिटेडमा लाभांश तथा कर्मचारी बोनस वितरण नहुँदा लगानीकर्ता र कर्मचारी निराश छन्। अध्यक्ष डा. बैकुण्ठप्रसाद अर्याल नियुक्त भए पनि बैंकको आन्तरिक अवस्था र संस्थागत सुशासनमाथि प्रश्न उठिरहेका छन्। २०७९ फागुनमा सिभिल बैंकसँग गाभिएपछि पनि लाभांश र बोनस वितरण हुन सकेको छैन। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ५७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५५.१३ प्रतिशत बढी हो। तर, वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक देखाइएको र खराब कर्जा ७ प्रतिशत रहेको भन्दै लाभांश वितरण रोकिएको बैंक स्रोतको भनाइ छ। यसैबीच, सेवा अवधि पूरा गरी अवकाश भएका डेपुटी सीईओ उज्ज्वल राजभण्डारी करार सम्झौताबिना कार्यालय जाने र सेवा–सुविधा उपभोग गरिरहेको स्रोतको दाबी छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले करार सम्झौताबिना अवकाशप्राप्त कर्मचारीले सेवा–सुविधा उपभोग गर्नु गैरकानुनी हुने बताएका छन्। राजभण्डारीको करार अवधि थपसम्बन्धी विषय राष्ट्र बैंकले टुंगो नलगाएको बताइएको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा बैंकका सूचना अधिकारी तथा डेपुटी सीईओ सुनीलप्रसाद गोर्खाली सम्पर्कमा आउन चाहेनन्।