काठमाडौँ। चारैतिर दसैँको रौनक छाइरहेका बेला भक्तपुरका किसानलाई भने वर्षभरि खाने धान भित्र्याउने चटारो परेको छ। खेतमा पाकेर पहेँलपुर भएका धान काट्न किसानहरू अर्मपर्म गर्दै व्यस्त छन्। उनीहरू धान काट्ने, थ्रेसर लगाएर दाना झार्ने तथा बोरामा भरेर भकारीमा भण्डारण गर्ने काममा जुटेका छन्। दसैँको अवसरमा अधिकांश मानिस किनमेल गर्न, घर सिँगार्न र आफन्तसँग खुसी साटासाट गर्ने तयारीमा व्यस्त भइरहँदा भक्तपुरका किसान भने बाली भित्र्याउनमै केन्द्रित छन्। मनसुन नेपालबाट बाहिरिए पनि जुनसुकै बेला मौसम बदली भई वर्षा हुन सक्ने सम्भावनाका कारण किसानले धान पाक्नेबित्तिकै भित्र्याउन थालेका हुन्। पछिल्ला केही वर्षदेखि बेमौसमी वर्षाका कारण बालीमा क्षति पुग्दै आएकाले यसपटक पनि वर्षा भए धानबालीमा ठूलो नोक्सानी हुने चिन्ता किसानमा छ। विगतका वर्षमा दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउने गरे पनि यस वर्ष दसैँ ढिला परेकाले धान पाक्ने समय र चाडपर्व एकैपटक जुधेका छन्। त्यसैले दसैँको रमझमभन्दा पनि वर्षभरिका लागि आवश्यक खाद्यान्न सुरक्षित गर्न भक्तपुरका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ भएको छ।