काठमाडौँ । नदीमा हामफालेका दुई जनालाई सकुशल उद्धार गर्ने प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ। ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशि पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको छ। प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत सहायक हवलदार चौधरीले भदौ २३ गते मधुवन नगरपालिका–३, कोठियाघाटस्थित पुलबाट कर्णाली नदीमा हामफालेकी राजापुरकी १६ वर्षीया बालिकाको सकुशल उद्धार गरेका थिए। त्यसैगरी, दार्चुलामा कार्यरत प्रहरी कार्यालय सहयोगी महराले महाकाली नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार गरेका थिए। साहसिक तथा जोखिमपूर्ण कार्य गर्ने व्यक्तिलाई प्रोत्साहनस्वरूप उक्त पुरस्कार प्रदान गरिँदै आएको छ।