काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई वर्तमान अवस्थाबाट पार लगाउन पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनका लागि तयार रहनुपर्ने बताए। आन्दोलनबाट भागेर वा आन्दोलन गर्ने आँट नगरेर सफलता हासिल गर्न नसकिने उनको भनाइ थियो। आन्दोलनले शक्ति आर्जन गर्ने, पार्टीलाई अघि बढाउने र विजय हासिल गर्न सहयोग गर्ने ओलीले बताए।
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा नेपाली जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले सरकार बलजफ्ती अघि बढिरहेको दाबी गर्दै प्रहरी बर्दीबिना पक्राउ गर्न जाने र बल प्रयोग गरेर घरभित्र प्रवेश गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। बोल्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्ने, गिरफ्तारी गर्ने र आतंकको वातावरण सिर्जना गर्ने काम भइरहेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिले नागरिकको स्वतन्त्रता र अधिकारमाथि असर पारेको बताए।
ओलीले राज्य अराजकतातर्फ उन्मुख भएको र सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको आरोपसमेत लगाए। यस्तो अवस्थामा राज्यका नागरिकले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो। उनले तत्कालै वा तिहार तथा छठपछि जुनसुकै समयमा आन्दोलन हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र सांगठनिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिए। आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेविरुद्धको राजनीतिक योजनालाई असफल बनाउने गरी पार्टीका गतिविधि अघि बढाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले निर्वाचनमा सक्रियतापूर्वक जुट्न आग्रह गर्दै पार्टीलाई बलियो बनाउन र चुनावमा सफलता हासिल गर्न एकजुट भएर अघि बढ्नुपर्ने बताए।