काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा रहँदा काठमान्डु भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।
जनकपुरले प्रतियोगिताको पहिलो खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा १९ रनको हार बेहोरेको थियो। ब्याटिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जनकपुरले यसपटक सुधारिएको खेल देखाउनुपर्नेछ। कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गर्दै आगामी खेलमा सुधार गर्ने बताएका थिए। मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी विदेशी खेलाडी भए पनि जनकपुरले पहिलो खेलमा ठूलो साझेदारी बनाउन सकेको थिएन।
पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई एनपीएल खेल्न रोक लगाएपछि जनकपुरले अन्तिम समयमा टोलीमा फेरबदल गर्नुपरेको थियो। त्यसपछि टोलीले परवेज हसन इमोन र सेफ हसनलाई अनुबन्ध गरेको छ। नयाँ खेलाडीको आगमनले जनकपुरको ब्याटिङमा कस्तो प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ। यद्यपि, उनीहरू आजको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने निश्चित छैन।
यता, काठमान्डु गोर्खाजले यस सिजन पहिलो खेल खेल्दैछ। राष्ट्रिय टोलीका अनुभवी खेलाडी र युवा प्रतिभाको मिश्रण रहेको काठमान्डु पहिलो खेलमै आफ्नो क्षमता देखाउन चाहन्छ। टोलीले अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडीलाई अनुबन्ध गरे पनि वार्नर नेपाल आइपुगेका छैनन्। उनको अनुपस्थितिमा अन्य विदेशी खेलाडीको प्रदर्शन र ब्याटिङ संयोजन काठमान्डुका लागि महत्त्वपूर्ण हुनेछ।
हेड टु हेडमा भने दुवै टोली बराबरीको अवस्थामा छन्। एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर र काठमान्डुबीच भएका दुई खेलमध्ये सन् २०२४ मा जनकपुर पाँच विकेटले विजयी भएको थियो भने सन् २०२५ मा काठमान्डुले पनि पाँच विकेटकै जित निकालेको थियो। त्यसैले यसपटकको प्रतिस्पर्धा दुवै टोलीका लागि एकअर्काविरुद्ध अग्रता लिने अवसर हुनेछ।
जनकपुरको सम्भावित प्लेइङ ११ मा तृतराज दास, मयन यादव, अनिल साह, मोइन अली, कुसल परेरा, हर्मीत सिंह, जिमी नीशम, इफ्तिखार अहमद, हुसेन शाह, ललित राजवंशी र राहुल यादव रहन सक्छन्। पहिलो खेलमा तृतराज दास र अनिल साहले उल्लेख्य योगदान दिन सकेका थिएनन् भने मयन यादवले केही आक्रामक सट खेलेका थिए। डेब्यू खेलमा राम्रो प्रदर्शन गरेका राहुल यादवबाट पनि टोलीले निरन्तरताको अपेक्षा गर्नेछ।
त्यस्तै, काठमान्डु गोर्खाजको सम्भावित प्लेइङ ११ मा स्मित पटेल, केएस भरत, भीम सार्की, राशिद खान, आदिल आलम, विल बोसिस्टो, सहान अराचिगे, सोनु देवकोटा, प्रसिद्ध जैसी, करण केसी र शाहब आलम रहन सक्छन्। वार्नरको अनुपस्थितिमा अमेरिकाका ब्याटर स्मित पटेलले शीर्षक्रममा आक्रामक सुरुवात दिलाउने अपेक्षा गरिएको छ। विकेटकिपर तथा ब्याटर केएस भरत र नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर करण केसीको प्रदर्शन पनि टोलीका लागि महत्त्वपूर्ण हुनेछ।
खेलमा जनकपुरका कप्तान हर्मीत सिंह, अनुभवी स्पिनर ललित राजवंशी तथा काठमान्डुका स्मित पटेल र करण केसी मुख्य आकर्षणका रूपमा रहनेछन्। हर्मीतले ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सके जनकपुरलाई फाइदा पुग्न सक्छ भने ललितको स्पिन बलिङले काठमान्डुको मध्यक्रमलाई चुनौती दिन सक्छ। अर्कोतर्फ, स्मितको आक्रामक ब्याटिङ र करण केसीको नयाँ बलमा विकेट निकाल्ने क्षमताले काठमान्डुको प्रदर्शनमा प्रभाव पार्न सक्छ।
यसैबीच, बिहीबारदेखि मौसम बदली भई वर्षाको सम्भावना रहेकाले खेलमा मौसमको प्रभाव पर्न सक्नेछ। वर्षाका कारण खेल प्रभावित भएमा दुवै टोलीको रणनीति र नतिजामा समेत असर पर्न सक्छ। जनकपुर पहिलो हार बिर्सेर जितको लयमा फर्कन चाहन्छ भने काठमान्डु प्रतियोगिताको सुरुवात जितबाट गर्ने लक्ष्यमा हुनेछ।