काठमाडौँ । हिमालय क्षेत्रमा बढ्दो अव्यवस्थित निर्माणका कारण कम्तीमा तीन लाख मानिस बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ। बीबीसीका अनुसार साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित अध्ययनले सन् २०१६ देखि २०२३ सम्म नेपालको उत्तरी क्षेत्र, दक्षिणपूर्वी तिब्बत र भारतको उत्तराखण्डका जोखिमयुक्त क्षेत्रमा निर्माण भएका संरचनाको क्षेत्रफल करिब ४५ प्रतिशतले बढेको देखाएको छ। हिमताल विस्फोटबाट बाढी आउने जोखिम भएका क्षेत्रमा भने निर्माण करिब ७८ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ।
अध्ययनअनुसार जोखिमयुक्त क्षेत्रमा पर्यटन पूर्वाधार, होटल, आवास, सडक तथा जलविद्युत् आयोजनाको विस्तार तीव्र रूपमा भइरहेको छ। अनुसन्धानकर्ताहरूले अध्ययनमा समेटिएका क्षेत्रबाहिर पनि यस्तै जोखिम रहेकाले प्रभावित मानिसको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएका छन्। नेपालका पोखरा, अन्नपूर्ण क्षेत्र तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा भइरहेको तीव्र निर्माणले बाढीपहिरोको जोखिम बढाएको छ। नदी किनारमा निर्माण गरिएका बस्ती तथा संरचनाहरू बाढी र पहिरोबाट प्रभावित हुँदै आएका छन्।वैज्ञानिकहरूका अनुसार विश्वको औसत तापक्रम वृद्धिदरभन्दा करिब दोब्बर गतिमा तापक्रम बढिरहेको हिमालय क्षेत्रमा हिमनदी पग्लने, हिमताल विस्तार हुने र हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको छ। तापक्रम वृद्धिका कारण वर्षाको स्वरूपमा परिवर्तन आउनुका साथै चट्टान खस्ने र पहाडी भूभाग अस्थिर हुने घटनासमेत बढ्न सक्ने वैज्ञानिकहरूको भनाइ छ। गत अगस्टमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गराएको घटनाले पनि यस्ता विपद्को जोखिमप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखाएको छ।
विज्ञहरूले नदी किनारमा हुने निर्माण नियन्त्रण गर्न, प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न र जोखिमका आधारमा भू–उपयोग योजना लागू गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल सरकारले रसुवा–भोटेकोशी क्षेत्रमा नदी किनारबाट १५ मिटरभित्र बस्ती बसाउन प्रतिबन्ध लगाउने तयारी गरेको छ। तर कमजोर नियमन र अव्यवस्थित विकासका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको अध्ययनले औँल्याएको छ।