सुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको विश्वप्रसिद्ध लाङटाङ उपत्यका पदमार्ग वैकल्पिक मार्ग तयार गरिएसँगै पुनः सञ्चालनमा आएको छ ।बाढीले पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँसी क्षेत्रका पूर्वाधारमा क्षति पुर्याएपछि लाङटाङ जाने पदमार्ग अवरुद्ध भएको थियो । पदयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र स्थानीय तहको सक्रियतामा बाढी प्रभावित क्षेत्रलाई छल्ने गरी वैकल्पिक मार्ग निर्माण गरिएको हो ।
नयाँ मार्गअनुसार पर्यटकले जिल्ला सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, ब्राबल, ठूलो स्याफ्रु हुँदै बम्बो, लामा होटल र लाङटाङ गाउँसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ ।पदमार्ग पुनः सञ्चालनमा आएसँगै स्थानीयवासी उत्साहित भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु ज्याङ्बा तामाङले विपत्तिका कारण आवागमनमा समस्या उत्पन्न भए पनि अहिले सुरक्षित वैकल्पिक मार्ग तयार गरिएको बताए ।
उनले लाङटाङ क्षेत्रका चियाघर, होटल तथा स्थानीय व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उल्लेख गर्दै पदयात्रीलाई ढुक्क भएर भ्रमणमा आउन आग्रह गरे ।प्राकृतिक विपत्तिपछि प्रभावित लाङटाङ क्षेत्रको पर्यटन व्यवसायलाई पुनः गति दिन र तामाङ समुदायको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन आन्तरिक तथा बाह्य पर्यटकको आगमन महत्त्वपूर्ण हुने वडाध्यक्ष तामाङको भनाइ छ ।
बाढीका कारण स्थानीय पर्यटन व्यवसाय र जनजीविकामा ठूलो असर परेको थियो । पदमार्ग पुनः सञ्चालनमा आएसँगै चियाघर सञ्चालक, पथप्रदर्शक र भरियामा पुनः आशा र उत्साह थपिएको छ ।हिमाल आरोहण तथा पदयात्राको सिजन सुरु भएसँगै सुरक्षित यात्रा गर्दै स्थानीय समुदायको आर्थिक पुनर्निर्माणमा योगदान पुर्याउन सरोकारवालाले स्वदेशी तथा विदेशी पर्यटकलाई लाङटाङ भ्रमण गर्न आग्रह गरेका छन् ।