जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र धार्मिकस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने गरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।
पराजुलीका अनुसार विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ। उद्घाटनको औपचारिक मिति तय भइनसके पनि प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा सेवा शुभारम्भ गर्ने लक्ष्य राखिएको छ। प्रधानमन्त्री शाह मङ्सिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी रहेको बताइएको छ।
रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक तथा प्रशासनिक पूर्वतयारीका विषयमा दुवै देशका अधिकारीबीच छलफल भइरहेको छ। नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो। निरीक्षणपछि रेल सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन र समन्वयका विषयमा थप छलफल भइरहेको जनाइएको छ।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या रेलमार्गबाट जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यस सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार दुई धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा दुवै देशका पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहजता हुनेछ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। नयाँ विशेष रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा आर्थिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।