• २०८३ कार्तिक १४ गते शुक्रवार
  • Preeti To Unicode

काममा ढिलाइ र सम्झौता उल्लङ्घन गर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काममा ढिलाइ र सम्झौता उल्लङ्घन गर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्त उल्लङ्घन गर्ने ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

कार्यालयका अनुसार सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोकको सिफारिसमा युवराज डाँगी मुख्य व्यक्ति रहेको निलगिरी निर्माण सेवा प्रालि, काठमाडौँ र सडक पूर्वाधार विकास कार्यालय, गुलरियाको सिफारिसमा राजनकुमार पोखरेल मुख्य व्यक्ति रहेको लुम्बिनी इन्जिनियरिङ वर्क्स प्रालि, बुटवललाई ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, सस्पेन्सन ब्रिज डिभिजनकै सिफारिसमा गौरीलाल डाँगी मुख्य व्यक्ति रहेको हरिहरि–शर्मिला जेभी, घोराही दाङलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त संयुक्त उपक्रममा हरिहरि निर्माण सेवा र शर्मिला कन्स्ट्रक्सन सेवा आबद्ध छन्।

यसैगरी, सडक डिभिजन दमौलीको सिफारिसमा कविन्द्र अधिकारी मुख्य व्यक्ति रहेको विन्ध्यवासिनी निर्माण सेवा र देवेन्द्रजंग कुँवर मुख्य व्यक्ति रहेको अनुपमा निर्माण सेवा, दुवै गोरखा तथा सामाजिक विकास कार्यालय, धुलिखेलको सिफारिसमा शर्वेश आचार्य मुख्य व्यक्ति रहेको सौरभ कन्स्ट्रक्सन, इटहरीलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा परेका यी कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया तथा ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार